काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गर्नुभएको छ।
ग्याल्पो ल्होछारको अवसरमा नेपाल शेर्पा सङ्घ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै हुने उल्लेख गर्नुभयो। उहाँले फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो।
राष्ट्रपतिले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको धारणा व्यक्त गर्नुभयो। मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो।
यस्तै, राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धि ल्याउन सकिएमा मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने पनि उल्लेख गर्नुभयो।
उहाँले नेपालका हिमाल, पहाड र तराईका भौगोलिक विशेषता बोकेको विभिन्न जातजातिमध्ये शेर्पा समुदायले आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको भन्दै नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले शताब्दीयौँदेखि नेपालका हिमाली क्षेत्रमा फैलिएको शेर्पा जातिले विश्वभर फैलिंदै आफ्नो समुदायसँगै नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धि गर्न उल्लेखनीय भूमिका खेलेको कुरा पनि खुशीको विषय भएको बताए।
ग्याल्पो ल्होछार फागुन ६ गते बुधबार मनाइँदैछ।
