२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजार ३७६ जना कर्मचारी खटिने भएका छन्। प्रदेशका ११ जिल्लामा रहेको २,३९६ मतदान केन्द्रमा एक मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी खटाइने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए।
प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी, १ जना कार्यालय सहयोगी र ३ जना स्वयंसेवक खटाइने योजना छ। कर्मचारी व्यवस्थापन जिल्ला मुख्य निर्वाचन कार्यालयमार्फत हुँदै आएको र छनोट भएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने कार्यालयले जनाएको छ।
गण्डकी प्रदेशका ११ जिल्लामा कुल १,२९७ मतदानस्थल र १,३९६ मतदान केन्द्र रहेका छन्। यस प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्। जिल्लामा सबैभन्दा बढी मतदाता कास्कीमा ३ लाख ८,५७२ र सबैभन्दा कम मनाङमा ७,००० मतदाता छन्। अन्य जिल्लाहरूमा मतदाता संख्या यस प्रकार छ: स्याङ्जा ३ लाख ४८,८१६, तनहुँ २ लाख ५४,३९७, नवलपुर २ लाख ६८,५२६, गोरखा २ लाख २९,०५८, बागलुङ १ लाख ९३,१८१, लमजुङ १ लाख ३७,१२४, पर्वत १ लाख २५,४६६, म्याग्दी ८६,३९७ र मुस्ताङ ११,३३८।
प्रदेशका कुल मतदातामध्ये ९ लाख १४,५३५ पुरुष, ९ लाख ५५,५१६ महिला र १४ अन्य रहेका छन्। यसअघिको २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गण्डकीमा १६ लाख ६२,२४६ मतदाता थिए भने हालको चुनावमा २ लाख ७,८१९ नयाँ मतदाता थपिएका छन्। गण्डकी प्रदेशमा १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन्।
