काठमाडौँ – लिचिबारी जग्गा भ्रष्टाचार प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ।
उनको निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेश हुने भएको छ।
यसअघि विशेष अदालतले लिचिबारी जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेश बदर गर्न माग गर्दै उनले सर्वोच्चमा निवेदन दिएका हुन्। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थुनामा पठाउने आदेश गरेको थियो।
अभियोगअनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको दाबी गरिएको छ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्यसुविधा प्रदान गर्न २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको थियो।
गुप्ताले भने अदालतमा बयान दिँदै आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेका छन्। तर, अदालतले प्रारम्भिक प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको थियो।
