कैलाली — धनगढी उपमहानगरपालिका ले फुटबलको विकास र युवाहरूमा खेलप्रति रुचि बढाउने उद्देश्यका साथ ‘ग्रासरुट फुटबल’ कार्यक्रमलाई नगरका १६ वटै वडामा विस्तार गर्ने निर्णय गरेको छ।
गत वर्ष चारवटा वडाबाट नमूना परियोजनाका रूपमा सुरु गरिएको कार्यक्रमलाई यस वर्ष सबै वडामा पुर्याउने योजना अघि बढाइएको हो। उपमहानगरपालिकाले हरेक वडामा फुटबल मैदान तयार गरी बालबालिकाहरूलाई नियमित रूपमा व्यावसायिक प्रशिक्षण दिने व्यवस्था गरेको छ।
गत वर्ष वडा नं. ७ को पटेला, वडा नं. ११ को दक्षिणकाली र ठेकराज माध्यमिक विद्यालय, वडा नं. १६ को घसिटा तथा वडा नं. १८ को चन्द्रोदय माध्यमिक विद्यालयमा कार्यक्रम सफल भएको थियो। यसलाई निरन्तरता दिँदै यस वर्ष वडा नं. १ को कभर्डहल, वडा नं. २ को सुक्ष्म वर्गीकरण केन्द्र नजिकको मैदान, वडा नं. ३ को नयाँ बसपार्क र वडा नं. ५ को श्रीकृष्ण खेल मैदानमा प्रशिक्षण केन्द्र सञ्चालन गरिनेछ।
नगरपालिकाले कार्यक्रम व्यवस्थित रूपमा अघि बढाउन कैलाली जिल्ला फुटबल संघ सँग औपचारिक सम्झौता गरेको छ। सम्झौताअनुसार जिल्ला फुटबल संघले प्राविधिक पक्ष र प्रशिक्षणको सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछ।
