ललितपुर — नख्खु कारागार बाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले ललितपुरको लगनखेल बाट पुनः पक्राउ गरेको छ।
गत भदौ २३–२४ गतेको ‘जेन्जी आन्दोलन’को अवसर छोपेर कारागारबाट भागेका २२ वर्षीय अशोक भुजेललाई फागुन ३ गते बेलुकी पक्राउ गरिएको हो। उनी दोलखाको शैलुङ गाउँपालिका–७ फस्कु घर भई हाल भोलढोकामा बस्दै आएका थिए। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई लगनखेल बसपार्क क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
भुजेललाई १३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर जिल्ला अदालत ले २०७९ असार २२ गते दोषी ठहर गर्दै १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको थियो। फरार भएपछि उनको खोजी तीव्र पारिएको थियो।
प्रहरीले उनलाई साँझ पौने ६ बजे लगनखेल बसपार्कबाट समातेर आवश्यक कारबाहीका लागि पुनः नख्खु कारागार पठाएको छ।
