ढाका — बंगलादेश नेसनल पार्टी (बीएनपी) करिब दुई दशकपछि मंगलबार औपचारिक रूपमा सत्तामा फर्कँदैछ। फेब्रुअरी १२ मा सम्पन्न १३औँ राष्ट्रिय संसदीय निर्वाचनमा भारी मतका साथ विजय हासिल गरेपछि पार्टीका अध्यक्ष तथा पहिलो पटक सांसद बनेका तारिक रहमान प्रधानमन्त्रीका रूपमा शपथ लिँदैछन्।
मन्त्रिपरिषद्को शपथ ग्रहण समारोह संसद भवनको साउथ प्लाजामा आयोजना हुनेछ। राष्ट्रपति भवनमा शपथ गराउने दशकौँ पुरानो परम्परा तोड्दै यसपटक साउथ प्लाजामा कार्यक्रम राखिएको हो। आयोजकका अनुसार २०२४ को ‘मनसुन क्रान्ति’ का क्रममा ज्यान गुमाएका सहिदहरूको योगदानलाई सम्मान गर्न यस्तो निर्णय गरिएको हो। सोही आन्दोलनले आवामी लिग नेतृत्वको सरकारको सबैभन्दा लामो कार्यकाल अन्त्य गरेको थियो।
मंगलबार बिहान १० बजे संसद भवनमा नयाँ संसदीय कार्यकाल सुरु गर्ने औपचारिक प्रक्रिया अघि बढ्नेछ। नवनिर्वाचित २९७ सांसदलाई प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले संसदको ओथ रुममा शपथ खुवाउने कार्यक्रम छ। त्यसपछि उनीहरूले संवैधानिक सुधार परिषद्को सदस्यता ग्रहण गर्नेछन्।
सबैभन्दा पहिले तारिक रहमानसहित बीएनपीका सांसदहरूले शपथ लिनेछन्। त्यसपछि बंगलादेश जमात-ए-इस्लामी, नेशनल सिटिजन पार्टी, बंगलादेश खिलाफत मजलिस, खेलफत मजलिस, गण अधिकार परिषद, बंगलादेश जातीय पार्टी, गणसंहति आन्दोलन तथा स्वतन्त्र सांसदहरूको पालो आउनेछ।
आधिकारिक नतिजा अनुसार बीएनपीले २०९ सिट जितेको छ। उसका सहयोगी दल गण अधिकार परिषद र बंगलादेश जातीय पार्टीले एक–एक सिट जितेका छन् भने गणसंहति आन्दोलनले पनि प्रतिनिधित्व सुनिश्चित गरेको छ।
६८ सिटसहित बंगलादेश जमात-ए-इस्लामी प्रमुख प्रतिपक्षी दल बनेको छ। उसका गठबन्धन साझेदार नेशनल सिटिजन पार्टी (६), बंगलादेश खिलाफत मजलिस (२) र खेलफत मजलिस (१) ले पनि सिट जितेका छन्। इस्लामी आन्दोलन बंगलादेशले एक सिट जित्दा सात निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
यसअघि निर्वाचन आयोगले २९९ मध्ये २९७ सिटको राजपत्र प्रकाशित गरेको थियो। कानुनी जटिलताका कारण चट्टोग्राम–२ र चट्टोग्राम–४ को नतिजा रोकिएको छ भने शेरपुर–३ मा जमात-ए-इस्लामीका उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगित गरिएको थियो।
दिउँसो ४ बजे राष्ट्रपति मोहम्मद सहाबुद्दिन ले साउथ प्लाजामा नयाँ मन्त्रिपरिषद् सदस्यलाई शपथ खुवाउनेछन्। संसद सचिवालयका अनुसार समारोहका लागि व्यापक तयारी पूरा गरिएको छ।
सांसदहरूको शपथपछि पूर्ण बहुमत प्राप्त बीएनपी संसदीय दलको बैठकले संसदीय नेता चयन गर्नेछ। उक्त नेताले राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी प्रस्तुत गर्नेछन्। त्यसपछि राष्ट्रपतिले दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् र प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्नेछन्।
समारोहमा करिब एक हजार स्वदेशी तथा विदेशी विशिष्ट अतिथिको सहभागिता अपेक्षित छ। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र भारतको लोकसभाका सभामुख ओम बिर्ला को उपस्थिति निश्चित भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम लगायत अन्य देशका सरकार प्रमुखलाई निमन्त्रणा गरिएको भए पनि समय तालिकाका कारण सबैको उपस्थिति निश्चित छैन। फेब्रुअरी १६–२० मा नयाँ दिल्लीमा हुने ‘इन्डिया–एआई इम्प्याक्ट समिट’ का कारण मोदीको प्रतिनिधित्व ओम बिर्लाले गर्ने जनाइएको छ।
चीन, साउदी अरेबिया, टर्की, युएई, कतार र ब्रुनाईका नेताहरूलाई पनि समारोहमा निमन्त्रणा पठाइएको छ।
