काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित समाचार प्रकाशित गर्ने अनलाइनलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको छ। आयोगले सेतोपाटी अनलाइनले आचारसंहिता विपरित समाचार लेखेको भन्दै सोमबार पत्र पठाएको हो।
आयोगले प्रेस काउन्सिललाई पठाएको पत्रमा उल्लेख गरेको छ कि, सेतोपाटी अनलाइनले मिति २०८२/११/०३ मा चितवन–३ मा सोविता गौतमले जित्नेछिन् र रेनु दाहाल दोस्रो रहनेछिन् भनी समाचार प्रकाशित गरेको थियो। त्यस्तै, मिति २०८२/११/०४ मा भोट कसलाई दिने भन्ने विषयमा समेत समाचार प्रकाशित गरिएको थियो। यसले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ र दफा २५ को उपदफा (१) ख को व्यवस्था उल्लङ्घन गरेको आयोगले जनाएको छ।
आयोगले पत्रमा भन्यो, “उल्लिखित अनलाइनको कार्य उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षणको परिणाम प्रकाशित गर्नु वा कसैको पक्ष/विपक्षमा समाचार प्रकाशन गर्नु निषेध छ। यसकारण आवश्यक कारवाही हुन अनुरोध गरिएको छ।”
यसैबीच, चितवन–३ की उम्मेदवार रेनु दाहालले पनि समाचारप्रति आपत्ति जनाएकी छन्।
