काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधाराबाट प्रहरीले लागुऔषध र ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर घर भएकी ५६ वर्षीया सञ्च माया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर लक्ष्मी खड्का नेतृत्वको टोलीले आइतबार तामाङको डेरामा खानतलासी गर्दा ५ किलो गाँजाको धुलो (‘पोल्यान्ड’ भनिने) र २५० क्याप्सुल ट्रामाडोल फेला परेको छ। सोही डेराबाट २ लाख ६२ हजार रुपैयाँ नगद पनि बरामद गरिएको छ।
प्रहरी वृत्त थानकोटले पक्राउ परेकी महिलामाथि अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनालाई काठमाडौं उपत्यकामा लागुऔषध नियन्त्रणमा कडाइका रूपमा लिएको जनाएको छ।
