रेनु दाहालले मत सर्वेक्षणको नाममा सञ्चारमाध्यममा सार्वजनिक गरिएको नतिजाप्रति आपत्ति जनाएकी छन्। चितवन जिल्ला निर्वाचन क्षेत्र नं. ३बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार दाहालले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन्।
निर्वाचन आचारसंहिताविपरीत भ्रामक समाचार प्रसारण गरिएको उल्लेख गर्दै उनले त्यस्ता सामग्रीले मतदातालाई प्रभावित पार्न सक्ने बताएकी छन्। “मत सर्वेक्षणको नाममा प्रसारित कपोलकल्पित समाचारले समग्र निर्वाचन प्रक्रियालाई नै असर पार्न सक्छ,” उनले भनिन्।
दाहाल हाल घरदैलो अभियानमा व्यस्त रहेकी र जनताबाट प्राप्त समर्थनले आफू उत्साहित भएको बताएकी छन्। भरतपुर महानगरपालिकामा नौ वर्षे कार्यकालमा गरेको कामकै आधारमा जनताबाट माया र विश्वास पाएको उनको दाबी छ।
निर्वाचनमा जीत–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले आफू मतदाताको विश्वासका आधारमा फराकिलो मतान्तरसहित विजयी हुनेमा आशावादी रहेको बताइन्। लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गर्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ। साथै, भ्रमपूर्ण समाचार प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सञ्चारमाध्यमलाई उनले आग्रह गरेकी छन्।
