काठमाण्डौ – गएको माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन्।
पुस महिनामा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ सङ्कलन भएकोमा माघमा केही घटेको हो। मालपोतको राजस्व सङ्कलन लगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन।
गत माघ महिनामा कुल ५० हजार ८ सय ३७ लिखत पारित भएको छ। गत वर्षको तुलनामा यसवर्षको माघमा लिखत पारितको संख्या केही बढेको छ।
विभागका अनुसार माघ महिनामा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८ रुपैयाँ, रजिस्ट्रेसन दस्तुर २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ रुपैयाँ, र पुँजीगत लाभकरबापत १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ रुपैयाँ सङ्कलन भएको थियो।
