सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको छ।
आइतबार राति मलंगवा नगरपालिका–१० मा यादवमाथि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश साहका अनुसार यादवको छातीमा गोली लागेको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।
सिराहा निवासी यादव मलंगवा–१० मा कार्यालयनजिकै डेरा गरी बस्दै आएका थिए। उनकी श्रीमती पुनमकुमारी यादवका अनुसार कोठामै रहेका बेला कसैले बाहिर बोलाएपछि घरको गेटबाहिर पुग्नेबित्तिकै अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका थिए।
घटनापछि आक्रमणकारी फरार रहेका छन्। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।
