प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ।
मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने कानुनी व्यवस्था छ। सोही प्रावधानअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन्।
निर्वाचन आयोगले निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर आचारसंहिताको पूर्ण पालना गर्न दल, उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ। सोही व्यवस्थाभित्र रहेर उम्मेदवारहरूले औपचारिक रूपमा मतदातासमक्ष मत माग्न पाउनेछन्।
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। उल्लङ्घन भएको अवस्थामा पत्र काटेर स्पष्टीकरण सोध्ने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने स्पष्ट पारिएको छ।
आचारसंहिता व्यापक परामर्शपछि तर्जुमा गरिएको स्मरण गराउँदै आयोगले सबै दलले यसको पूर्ण परिपालना गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको छ। उल्लङ्घनको प्रमाण र अवस्था हेरी सचेत गराउने, दण्ड–जरिवाना गर्ने वा उम्मेदवारी खारेजसम्म गर्न सकिने कानुनी व्यवस्था रहेको उनले बताए।
यसैगरी, दल तथा उम्मेदवारहरूले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गर्न सक्नेछन्। आमसभा वा कोणसभा गर्दा मञ्च निर्माणलगायत खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।
निर्वाचन अवधिमा कुनै दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले स्पष्ट पारेको छ।
