नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ। बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो।
गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित तम्घास सवस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोट स्थित बुर्तिबाङ सवस्टेसनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत् परीक्षण र प्रवाह गरिने प्राधिकरणले जनाएको छ।
उक्त प्रसारणलाइन आजदेखि दुई दिनसम्म परीक्षण गरिने र त्यसपछि मात्र नियमित सञ्चालनमा ल्याइने तयारी गरिएको विद्युत् प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए। प्राधिकरणका अनुसार यो लाइन रेसुङ्गा नगरपालिका–३, ४ र ५, इस्मा गाउँपालिका–२, मुसिकोट नगरपालिका–१, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका–२, ५, ६ र ७ तथा ढोरपाटन नगरपालिका–२ बुर्तिबाङसम्म विस्तार गरिएको छ।
उच्च भोल्टेजका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई प्रसारणलाइनको टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरि नजान र घरेलु जनावर बाहिर नछाड्न आग्रह गरेको छ। साथै खतराको संकेत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन समेत अनुरोध गरिएको छ। परीक्षणको क्रममा झिल्का (स्पार्क) देखिए वा अन्य जोखिम महसुस भएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको छ।
आयोजना प्रमुख चौधरीका अनुसार यस आयोजनाको कुल लागत ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रहेको छ। आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप विश्वसनीय र सुदृढ हुने अपेक्षा गरिएको छ।
कपिलवस्तुको मोतिपुर सवस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई भएर बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था गरिएको छ।
यसअघि बुटवलमा रहेको सवस्टेसनबाट लामो दूरीमा जिल्लामा विद्युत् आपूर्ति गर्दा पटक–पटक सेवा अवरुद्ध हुने गरेको थियो। नयाँ प्रसारणलाइन र सवस्टेसन सञ्चालनमा आएपछि ती समस्या समाधान भई जिल्लामा सहज र दीर्घकालीन रूपमा विद्युत् सेवा नियमित हुने विश्वास गरिएको छ।
