जुम्ला । जुम्लाबाट नेपालगञ्जसम्म बिरामी लैजान एम्बुलेन्सको भाडा रु २५ हजार निर्धारण भएपछि स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन्। जिल्ला एम्बुलेन्स समितिले दर आफूखुसी तोकेको आरोप उनीहरूको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०८२ अनुसार प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा पुस २४ गते बसेको बैठकले जिल्लाभर लागू हुने नयाँ भाडादर तय गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।
तोकिएको भाडादर
चन्दननाथ नगरपालिकाभित्र: रु ६००
जिल्लाभित्र कच्ची सडक: प्रतिकिलोमिटर रु १००
जिल्लाभित्र पक्की सडक: प्रतिकिलोमिटर रु ९० (दुवैतर्फ)
जुम्ला–सुर्खेत: रु २०,०००
जुम्ला–नेपालगञ्ज: रु २५,०००
कार्यालयका निमित्त प्रमुख किरणकुमार शर्माले जनगुनासो आएको स्वीकार गर्दै आवश्यक परे आगामी बैठकबाट दर पुनरावलोकन गर्न सकिने बताएका छन्।
समितिका संयोजक तथा प्रजिअ पौडेलका अनुसार दूरी, इन्धन खर्च, मर्मत तथा चालक खर्चका आधारमा भाडादर निर्धारण गरिएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विभिन्न स्थानीय तहमा फरक–फरक श्रेणीका एम्बुलेन्स सञ्चालन भएकाले दरमा एकरूपता ल्याउन यस्तो निर्णय गरिएको उनले बताए।
तर स्थानीय बासिन्दाले बिरामी सेवाजस्तो अत्यावश्यक सुविधाको मूल्य अत्यधिक महँगो भएको बताएका छन्। गरिब तथा विपन्न नागरिकको उपचार पहुँच प्रभावित हुने भन्दै दर घटाउन माग गरिएको छ।
सिंजा गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका र चन्दननाथ नगरपालिकाले भने समितिले तोकेको भाडादर कार्यान्वयन गर्ने सूचना जारी गरिसकेका छन्।
