गगन थापाले महाशिवरात्रि पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताएका छन्।
महाशिवरात्रिको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले धार्मिक तथा सांस्कृतिक पर्वहरूले नेपालको मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे।
उनले भने, “हिन्दु धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा, भक्ति र आस्थाका साथ भगवान् शिवको आराधना गरी मनाउने ‘महाशिवरात्रि’ हाम्रो धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको एक महत्वपूर्ण तथा पवित्र पर्व हो।”
सभापति थापाले नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै महाशिवरात्रिजस्ता पर्वहरूले अनेकतामा एकताको भावना सुदृढ पार्ने विश्वास व्यक्त गरे। यस्ता पर्वले सबै नेपालीबीच आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउन मद्दत गर्ने उनले बताए।
महाशिवरात्रिको पावन अवसरमा उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भगवान् शिवको कृपाले सबैमा सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गरे।
