काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीले छोटो समयमा देशभर जनताको माया, विश्वास र सद्भाव पाएको बताएका छन्। शनिबार रामेछापमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले करिब तीन महिनामै व्यापक समर्थन देखिएको उल्लेख गरे।
घिसिङले भने, “आज देशैभरि उज्यालो नेपाल पार्टी छोटो समयमा यति धेरै जनताको माया, विश्वास र सद्भाव पाएको छ, त्यसैले अब एक नम्बरको पार्टी बन्न धेरै समय लाग्दैन।”
उनले आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गरेको उल्लेख गर्दै २०–२१ दिनको चुनावी अभियानमा बढीभन्दा बढी सिट जित्ने लक्ष्य रहेको बताए। निर्वाचनपछि सरकारको नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै उनले उज्यालो नेपाललाई ‘चमत्कारी पार्टी’ का रूपमा स्थापित गर्ने दाबी गरे।
अध्यक्ष घिसिङले पार्टी निरन्तर संगठन विस्तारमा केन्द्रित रहने पनि बताए। साथै, करिब १५–१६ महिनापछि हुने प्रदेश र स्थानीय तह निर्वाचनमा उज्यालो नेपाललाई देशको पहिलो पार्टी बनाउने लक्ष्य रहेको उनले उल्लेख गरे।
