‘केपी ओलीलाई नै भोट किन?’ : एमालेद्वारा झापा–५ मा ३० कारणसहित अपिल सार्वजनिक
काठमाडौं । ने क पा (एमाले)ले अध्यक्ष K. P. Sharma Oli लाई मत हाल्नैपर्ने ३० वटा कारण सार्वजनिक गरेको छ।
झापा निर्वाचन क्षेत्र नम्बर–५ को क्षेत्रीय कमिटीले ‘केपी शर्मा ओलीलाई नै भोट किन?’ शीर्षकमा अपिल प्रकाशन गर्दै राष्ट्रिय स्वाधीनताको रक्षादेखि शिक्षक दरबन्दी मिलान, अधुरा विकास आयोजना सम्पन्न गर्ने प्रतिबद्धतासम्मका विषय समेटेको जनाएको छ।
अपिलमा देशमा छाएको त्रासको वातावरण अन्त्य गर्दै शान्ति–सुरक्षाको ग्यारेन्टी गर्न ओलीलाई मत दिनुपर्ने उल्लेख छ। साथै झापा–५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरू सम्पन्न गर्न पनि ओली आवश्यक रहेको दाबी गरिएको छ।
एमालेले नवयुवालाई प्राविधिक शिक्षा र सीपमूलक तालिममार्फत स्वरोजगारको अवसर सिर्जना, सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने, कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यका लागि ओलीलाई जिताउनुपर्ने तर्क अघि सारेको छ।
निर्माणाधीन एसियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकका बाँकी काम पूरा गर्न पनि ओलीको नेतृत्व आवश्यक रहेको अपिलमा उल्लेख छ। दमक–रवि–चिसापानी सडक निर्माण, नेपाल–चीन मैत्री औद्योगिक पार्क सम्पन्न गर्ने, दमक, गौरादह र गौरीगञ्जलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने एजेन्डा पनि सार्वजनिक गरिएको छ।
एमालेका केन्द्रीय सदस्य दीपक कार्की का अनुसार भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, रतुवा, मावा र कमल खोलाको तटबन्धन तथा स्थानीय तहका अस्पतालमा सेवा विस्तारका लागि ओलीलाई निर्वाचित गर्न आह्वान गरिएको हो।
कार्कीले अपिल घरदैलो अभियानमा कार्यकर्तालाई मतदातासमक्ष एजेन्डा प्रस्ट पार्न सहयोगी सामग्रीका रूपमा प्रयोग भइरहेको बताए। उनका अनुसार प्रत्येक वडामा परिवार संख्याका आधारमा कम्तीमा १,५०० प्रति अपिल वितरण गरिनेछ।
निर्वाचन नजिकिँदै जाँदा एमालेले झापा–५ मा अध्यक्ष ओलीलाई केन्द्रमा राख्दै विकास र स्थायित्वको नारासहित चुनावी अभियान तीव्र बनाएको छ।
