दमक, झापा । झापा–५ का लागि नेकपा उम्मेदवार रञ्जित तामाङले ७ मिसन र ३५ भिजनसहितको आफ्नो चुनावी ‘भिजन पेपर’ सार्वजनिक गरेका छन्। परम्परागत रूपमा घोषणापत्र भनिने दस्तावेजलाई उनले ‘भिजन पेपर’ नाम दिएका हुन्।
आइतबार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत तामाङले २१ लक्ष्य र १७० गौरव आयोजना समेटिएको विस्तृत योजना सार्वजनिक गरेका हुन्।
तामाङले आफ्नो सातवटा मुख्य मिसन अन्तर्गत पहिलोमा शिक्षा, दोस्रोमा स्वास्थ्य, तेस्रोमा कृषि, उद्योग र व्यवसाय, चौथोमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएका छन्। पाँचौँ मिसनमा रोजगारी, छैटौँमा सुशासन र सार्वजनिक सेवा प्रवाह तथा सातौँमा सामाजिक समावेशीकरण, संस्कृति र वातावरणलाई समेटिएको छ।
उनले ‘गुणस्तरीय र प्राविधिक शिक्षा : समग्र शिक्षाको समीक्षा’, ‘पहुँचयोग्य र भरपर्दो उपचार : नागरिकको मौलिक अधिकार’ र ‘आवश्यक तथा अत्याधुनिक पूर्वाधार : नमूना क्षेत्र विकासको आधार’ जस्ता नारा अघि सारेका छन्।
यसैगरी ‘भ्रष्टाचारमुक्त प्रशासन : इमान्दार नेतृत्व र सुशासन’, ‘नेपाली जाति : समृद्धिको साथी’, ‘युवालाई काम : क्षेत्रको पहिचान’, ‘कृषि र बजार : उद्योगको आधार’ लगायतका नारामार्फत विभिन्न कार्यक्रम र योजनाहरू प्रस्तुत गरिएको छ।
मस्यौदा समितिका संयोजक रमेश गुरागाईंका अनुसार ‘भिजन पेपर’मा भूमिहीन सुकुम्बासीको समस्या समाधान, अधुरो रवि–चिसापानी सडक सम्पन्न गर्ने, आदिवासी जनजाति स्मृति रंगशाला निर्माण पूरा गर्ने, औद्योगिक करिडोर अघि बढाउनेलगायत १७० गौरव आयोजना समेटिएका छन्।
‘भिजन पेपर’मा तामाङले नवयुवाको चाहना र भावनालाई प्रतिनिधित्व गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञ सम्मिलित मन्त्रिमण्डलको अवधारणा अघि सारेका छन्। उनले गैरदलीय स्थानीय तहको पक्षमा आफू उभिएको पनि बताएका छन्।
निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतका अनुसार ‘भिजन पेपर’ यस क्षेत्रको समग्र विकास र दीर्घकालीन निकासको मार्गचित्रका रूपमा तयार गरिएको हो। नेकपाले भिजन पेपर निर्माण गर्नुअघि विभिन्न क्षेत्र र संस्थाका प्रतिनिधिहरूसँग सुझाव संकलन गरेको जनाएको छ।
झापा–५ को चुनावी प्रतिस्पर्धामा तामाङले सार्वजनिक गरेको यो ‘भिजन पेपर’लाई मतदातामाझ आफ्नो स्पष्ट नीति र विकास दृष्टिकोण प्रस्तुत गर्ने प्रयासका रूपमा हेरिएको छ।
