इरान : नोबेल शान्ति पुरस्कार विजेता ५३ वर्षीय नर्गेस मोहम्मदीलाई स्वास्थ्यप्रति बढ्दो चिन्ता र पूर्व जानकारी नदिई देशको उत्तरी भागको जन्जान जेलमा स्थानान्तरण गरिएको छ।
मोहम्मदीलाई सन् २०२३ मा महिला अधिकार र इरानी नागरिकको स्वतन्त्रताको अभियानमा लामो समय योगदान गरेको भन्दै नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो। उनी गत डिसेम्बर १२ मा पूर्वी शहर मशहादमा एक अन्त्येष्टि समारोहमा इस्लामिक धार्मिक नेतृत्वविरुद्ध बोलेको आरोपमा पक्राउ परेकी थिइन्। साथै, इरानमा हालै भएको सरकारविरोधी आन्दोलनमा नागरिकलाई उक्साएको आरोप पनि लगाइएको छ।
यसै महिनाको शुरुमा मोहम्मदीले भोक हडताल गर्नुभएको थियो। पक्राउ परेपछि उनलाई मशहादमा गुप्तचर मन्त्रालयको हिरासतमा राखिएको थियो र भाइ तथा इरानी वकिलसँग फोन सम्पर्क गर्ने अनुमति दिइएको थियो। तर हाल उहाँलाई पूर्वजानकारी बिना उत्तरी भागको जन्जान जेलमा सारिएको आफन्तले बताएका छन्।
