जोमसोम, मुस्ताङ : चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुस्ताङ जिल्लाबाट चार हजार ३९१ केजी फोहोरमैला जिल्ला बाहिर पठाइएको छ। वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले पोखरा स्थित प्रशोधन केन्द्रमा पठाएको हो।
एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तका अनुसार, धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङलाई सफा, स्वच्छ र वातावरणमैत्री बनाउन समुदायले संकलन गरेको फोहोर ट्रकमार्फत पोखरा पठाइएको हो। चालु आर्थिक वर्षको पुस महिनासम्म चार चरणमा ट्रकमार्फत फोहोर निकासी गरिएको छ।
पहिलो चरण : भदौ ११ गते, १७६ बोरा (५४४ केजी)
दोस्रो चरण : कार्तिक १९ गते, १५४ बोरा (८६० केजी)
तेस्रो चरण : मंसिर ७ गते, २४२ बोरा (१५३ केजी)
चौथो चरण : पुस ९ गते, १७२ बोरा (१,३५१ केजी)
एक्यापले पर्यटन व्यवसायी र स्थानीय समुदायबाट संकलन भएको नकुहिने प्लास्टिकजन्य फोहोरको ढुवानी खर्च आफैं व्यवस्थापन गरेको छ। गतवर्ष भने कुल १० हजार १९० केजी फोहोर ट्रकमार्फत पोखरा पठाइएको थियो।
फोहोर व्यवस्थापनका लागि एक्याप र ग्रीन वेस्ट मेनेजमेन्ट प्रा.लि. बीच सहमति भएको छ। चालु आर्थिक वर्ष तीन पालिकालाई फोहोरमैला व्यवस्थापनको लागि पाँच–पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
घरपझोङ गाउँपालिकाले ट्याम्पो खरिद
वारागुङ मुक्तिक्षेत्रले कम्प्रेसर मेशिन खरिद
थासाङ गाउँपालिकाले छलफलको चरणमा योजना
एक्यापले थासाङ, घरपझोङ र वारागुङका विभिन्न वडामा फोहोर संकलन केन्द्र र पूर्वाधार निर्माण गरेको छ। यसबाट पर्यटक र स्थानीय नागरिकद्वारा उत्पन्न फोहोरमैला व्यवस्थित रूपमा व्यवस्थापन हुने विश्वास गरिएको छ।
