नेपाली सेनाले आज आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव देशभर विविध कार्यक्रम आयोजना गरी मनाइरहेको छ। राष्ट्रपतिको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा महाशिवरात्रि बढाइँ र सेना दिवस विशेष समारोह आयोजना हुने छ। उनी नेपाली सेनाका परमाधिपति पनि हुन्।
सेनाले महाशिवरात्रि पर्वलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाज, सैनिक कला र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार जङ्गीअङ्डा, पृतना, बाहिनी, गण र गुल्म, कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विविध कार्यक्रम सञ्चालन गरिनेछ।
नेपाली सेनाको इतिहास १८१९ सालदेखि सुरु भएको हो। स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि सेनाले इतिहासका विभिन्न कालखण्डमा गौरवशाली काम गर्दै आएको छ। सैनिक वीर पुर्खाहरूको साहस, बलिदान र समर्पणका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो। सेनाले राष्ट्रिय एकता कायम राख्नु आफ्नो संवैधानिक जिम्मेवारी मान्दछ।
नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि भरपर्दो र विश्वसनीय छवि बनाउन सफल भएको छ। समावेशिता बढ्दै गएसँगै महिलाको सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको छ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेनाको योगदान सन् १९५८ देखि सुरु भएको हो। हालसम्म ४४ शान्ति मिसनमा १ लाख ६२ हजार ४९६ नेपाली शान्ति सैनिकले सेवा दिइसकेका छन्। विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ७४ नेपाली सैनिकले जीवन बलिदान दिएका छन् भने ७७ घाइते भएका छन्। हाल ३९१ महिला सैनिकसहित चार हजार ३०२ नेपाली शान्ति सैनिक विश्वका १० मिसनमा परिचालित छन्।
सेना विपद् व्यवस्थापन, सडक पूर्वाधार निर्माण, दरबार, गढी, सङ्ग्रहालय, विद्युत् गृह र प्राकृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुर्याउँदै आएको छ। सेनाको व्यवस्थापनमा काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा राखेको छ।
