भोजपुर नगरपालिका–४, दावाँस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोर्ट्स कम्प्लेक्सलाई भलिबल र अन्य इन्डोर्स खेलका लागि राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। करिब १२ वर्षअघि निर्माण सुरु गरिएको यस कम्प्लेक्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै खेलाडी उत्पादन र प्रशिक्षणमा उपयोग गर्ने तयारी भइरहेको नेपाल भलिबल सङ्घले जनाएको छ।
सङ्घका महासचिव रोशन श्रेष्ठका अनुसार करिब रु दुई करोडको लागतमा निर्माण गरिएको कम्प्लेक्सलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै राष्ट्रिय खेल भलिबलको दीगो विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको छ। उनले भने, “राष्ट्रिय भलिबल सङ्घले यहाँ आवासीय भलिबलसहित अन्य खेलका प्रशिक्षण केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ। दावाँस्थित कृष्णलक्ष्मी स्पोर्ट्स कम्प्लेक्सलाई खेल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्नु हाम्रो प्रमुख उद्देश्य हो।”
महासचिव श्रेष्ठले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसारको बजेट समयमै उपलब्ध नभएको कारण केही निर्माण कार्यमा ढिलाइ भएको उल्लेख गर्दै आवश्यक बजेट विनियोजनमा जोड दिएका छन्।
आवासीय प्रशिक्षण केन्द्र सञ्चालनका लागि योग्य प्रशिक्षकको व्यवस्था गरिनेछ। यस केन्द्रमार्फत स्थानीय र प्रदेशस्तरका प्रतिभाशाली खेलाडीलाई व्यवस्थित प्रशिक्षण प्रदान गरिनेछ, जसले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादनमा सहयोग पुर्याउने विश्वास लिइएको छ। कम्प्लेक्स निर्माणमा स्वर्गीय माधवप्रसाद श्रेष्ठले १० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको महासचिव श्रेष्ठले बताए।
नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले कम्प्लेक्सको स्थलगत अनुगमन गर्दै भौतिक अवस्था, सम्भाव्यता र आवश्यक सुधारका विषयमा चासो व्यक्त गरेका छन्। उनले स्थानीय तह, प्रदेश सरकार र सङ्घबीच सहकार्यबिना केन्द्र सञ्चालन कठिन हुने बताए।
भलिबलका मुख्य प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद्का तालिम प्रशिक्षक एवं उपनिर्देशक जगदीशप्रसाद भट्टले प्रशिक्षण केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि भलिबलसहित अन्य इन्डोर्स खेलमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने बताए।
स्थानीयवासी उत्तम खड्काका अनुसार प्रशिक्षण केन्द्र सञ्चालनले जिल्लामा खेलकुद गतिविधि वृद्धि हुनुका साथै युवालाई अनुशासित र स्वस्थ जीवनतर्फ प्रेरित गर्दै राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनमा भोजपुरको योगदान बढाउनेछ। लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको खेल संरचनालाई पुनः जीवन दिने कार्यले भोजपुरको खेलकुद विकासमा नयाँ आशा जगाएको छ।
