रौतहटको दुर्गाभगवती गाउँपालिका–४, गौर–गंगापिपरा सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहान करिब ५ः३० बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल झाझपुल नजिकै अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएको थियो। स्थानीयले दुर्घटनाग्रस्त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गंगापिपरा र जिल्ला प्रहरी कार्यालयबाट टोली खटाइएको थियो। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४, सरुअठा निवासी २४ वर्षीय जितेन्द्र साह र पछाडि सवार उनकी श्रीमती २२ वर्षीया पुनम देवी साह गम्भीर घाइते भएका थिए। दुवैको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल गौरमा उपचारका लागि लगिएको थियो।
जिल्ला प्रहरी प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार उपचारकै क्रममा चिकित्सकले दुवै जनालाई मृत घोषित गरेका छन्। दुवैको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
