विराटनगर महानगरपालिका–५, पुलचोकमा आइतबार बिहान करिब १ बजेतिर भएको सवारी दुर्घटनाले ठूलो लागुऔषध कारोबारको रहस्य उजागर गरेको छ। दुर्घटनामा परेको बा ८ च ६५०८ नम्बरको स्कोरपिओ गाडी सडक छेउको खाल्डोमा खसेपछि प्रहरीले गाडी भित्र लुकाइएको ४ सय २० किलो गाँजा बरामद गरेको छ। चालक फरार रहेका कारण खोजी तीव्र पारिएको छ भने गाडी र बरामद गाँजालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार गाडी भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको थियो र अचानक अनियन्त्रित बनेर खाल्डोमा खसेको पाइएको हो। दुर्घटनाको सूचना पाउँनासाथ सीआरभी बरगाछीबाट असई सन्तोष कटवाल र वडा प्रहरी कार्यालय विराटनगरबाट इन्स्पेक्टर साजन महतरा नेतृत्वको टोली घटनास्थल पुगेको थियो।
गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा सिट र डिक्कीमा प्लास्टिकले प्याक गरिएको ठूलो परिमाणको गाँजा फेला परेको थियो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार स्कोरपिओको पछाडिको सिटमुनि र डिक्कीमा छुट्टाछुट्टै पोका बनाएर गाँजा लुकाइएको थियो।
एसपी कटवालले चालक फरार रहेको पुष्टि गर्दै ४२० किलो गाँजा बरामद भएको जानकारी दिए। बरामद गाँजा र गाडीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर नमुना संकलन गरी परीक्षणसहित विस्तृत अनुसन्धान अघि बढाइएको छ। दुर्घटनामा खाल्डोमा फसेको गाडी क्रेनको सहयोगमा सुरक्षित रूपमा प्रहरी कार्यालय पुर्याइएको थियो।
प्रहरीले सुरक्षाकर्मीको निगरानी छल्न चालकले गाडी तीव्र गतिमा चलाएको हुनसक्ने र निर्वाचन नजिकिँदै गर्दा तस्कर समूहले भित्री सडक प्रयोग गर्ने रणनीति अपनाउने गरेको बताएको छ। पुलचोक क्षेत्र मुख्य सडकबाट भित्री मार्गतर्फ जाने संवेदनशील बिन्दु मानिन्छ।
प्रहरी स्रोतका अनुसार बरामद गाँजा भारततर्फ पठाउने उद्देश्यले ल्याइएको हुनसक्ने आशंका गरिएको छ। गाडीको दर्ता विवरण, स्वामित्व र आपराधिक सञ्जालबारे अनुसन्धान सुरु भइसकेको छ। चालकको पहिचान खुलाउने प्रयास तीव्र बनाइएको छ।
एसपी कटवालले ठूलो परिमाणको गाँजा एकल प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै गाडी मालिक, चालक र आपूर्ति सञ्जाल पत्ता लगाउने दिशामा अनुसन्धान भइरहेको बताए। उनले भनें, “४२० किलो गाँजा सामान्य परिमाण होइन। यसको पछाडि सञ्जालगत योजना र समन्वय रहेको हुनसक्छ। सबै तथ्य बाहिर ल्याएर दोषीलाई कारबाहीमा ल्याइनेछ।”
दुर्घटनामा मानवीय क्षति नभएको बताइएको छ। ठूलो परिमाणको लागुऔषध बरामद हुनु सुरक्षा दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ र यस घटनाले मोरङमा लागुऔषध नियन्त्रणमा प्रहरी सक्रियता निरन्तर बढिरहेको सन्देश दिएको छ।
