प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत आज (आइतबार)देखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षालाई अगाडि बढाउन लागेको हो।
आयोगले जानकारी दिएको छ कि यस कार्यक्रमको मुख्य उद्देश्य आम नागरिकलाई मताधिकारको महत्त्व, मतदान प्रक्रिया र नमुना मतपत्र प्रयोगबारे जानकारी दिनु हो।
यो कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ। प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन्। ती स्वयंसेवकले बस्ती र घरदैलोमा पुगेर मतदातालाई नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रिया बुझाउनेछन्।
निर्वाचन आयोगले प्रभावकारी मतदाता शिक्षाले मतदाताको सहभागिता बढाउने र बदर मतको अनुपात कम गर्ने विश्वास व्यक्त गरेको छ। यस कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, राजनीतिक दल, उम्मेदवार र सञ्चार माध्यमसमेतलाई आयोगले अनुरोध गरेको छ।
