भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर वडा नं. ८, सगरमाथा बस्ने २८ वर्षीय कृष्ण राजवंशी, सोही ठाउँका १८ वर्षीय निशान मोहम्मद, १९ वर्षीय इमरान मोहम्मद, बिर्तामोड–३ बस्ने २१ वर्षीय निशान चौधरी र भद्रपुर–१० बस्ने २४ वर्षीय मोहम्मद जाहित रहेका छन्।
शनिबार दिउँसो द्रपुर–८, सगरमाथा चोकमा लागूऔषध सेवन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। सोही ठाउँ बस्ने जगतबहादुर मगरको घरमा भाडामा बस्ने निशान मोहम्मदसहित पाँच जनालाई लुकिछिपि लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरूको साथबाट प्लाष्टिकसहित १० ग्राम ३८० मिलिग्राम र प्लाष्टिकबाहेक ९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
कृष्ण राजवंशीको नाममा रहेको मे १० प ३८७१ नं.को मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको प्रहरीले जनाएको छ।
