काठमाडौँ । पशुपतिनाथ मन्दिरमा आज महाशिवरात्रि पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ । महाशिवरात्रिको अवसरमा मन्दिर दर्शनका लागि करिब ७ लाख भक्तजन आउने आकलन पशुपति क्षेत्र विकास कोषले गरेको छ ।
ठूलो संख्यामा दर्शनार्थी सहभागी हुने भएकाले स्थानीय प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार योजना कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए ।
मन्दिर परिसरमा प्रहरीले कमान्ड पोस्ट स्थापना गरेको छ । बालबालिका हराउने, चोरी, डकैती तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न परिसर काठमाडौँका एसपी पवन भट्टराईको नेतृत्वमा सुरक्षा व्यवस्थापन गरिएको छ । पशुपति क्षेत्रको सुरक्षाका लागि ३ हजार ७ सय नेपाल प्रहरी परिचालन गरिएको छ भने निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई पनि यहाँ परिचालन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र महानगर प्रहरीसहित करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको एसएसपी थापाले बताए ।
शनिबार पशुपति क्षेत्रमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायतले सुरक्षा तयारीबारे अनुगमन गरेका थिए ।
दर्शन व्यवस्थालाई सहज बनाउन कोषले बिहानैदेखि मन्दिरका चारवटै ढोका खुला गरेको जनाएको छ ।
