पोखरा महानगरपालिका–६ पामेस्थित फेवाताल मा कार खस्दा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्दै आएका २४ वर्षीय अदित गुरुङ रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीका अनुसार गएराति करिब २:१० बजे पामेको गैह्राकोचौतरा नजिकै उक्त दुर्घटना भएको हो। चालकले नियन्त्रण गुमाउँदा कार अचानक सडकबाट तल खसी फेवातालमा पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
दुर्घटनाको खबर पाएलगत्तै कालिका गणबाट सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहको कमाण्डमा गोताखोरसहित २१ जनाको टोली घटनास्थलमा खटिएको थियो। गोताखोर टोलीले अचेत अवस्थामा रहेका गुरुङलाई तालबाट बाहिर निकाली तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको थियो।
अस्पताल पुर्याइएपछि बिहान ४:३४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ। घटनाबारे थप अनुसन्धानका लागि सवारीसाधनलाई वडा प्रहरी कार्यालय बैदाम लगिएको प्रहरीले जनाएको छ।
