सुनसरी — सशस्त्र प्रहरी बल, नेपाल ले सुनसरी गाउँपालिका–३ जमुवास्थित सीमा नाकाबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतको अररिया ग्राम पञ्चायत–४ निवासी ३६ वर्षीय राम थेलन पासवानलाई इटालीमा निर्मित पेस्तोल र तीन राउण्ड गोलीसहित शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो। उनी भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भई नेपालतर्फ प्रवेश गर्दै गर्दा पक्राउ परेका हुन्।
उनको साथबाट ब्राउन सुगरजस्तो देखिने करिब १ सय ग्राम पदार्थ, नेपाली रुपैयाँ ७ हजार ५ तथा भारतीय रुपैयाँ ९ हजार ३ सय ८० समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका पासवानलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
यसैबीच, आसन्न निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी का बाहिनीपति डिआइजी मनिष थापा ले सीमा नाकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। इलाम, झापा, मोरङ र सुनसरीका सीमा क्षेत्रको स्थलगत अनुगमनपछि चेकजाँच कडा पारिएको जनाइएको छ।
