दार्चुला — सदरमुकाम खलङ्गामा रहेको जिल्ला कारागार कार्यालयको सुरक्षा जिम्मा बिहीबारदेखि नेपाली सेना ले सम्हालेको छ। यसअघि कारागारको सुरक्षा नेपाल प्रहरी ले गर्दै आएको थियो।
खलङ्गामै रहेको श्रीदल गुल्मबाट सहसेनानी अन्वेश गुरुङको नेतृत्वमा १० जनाको सेनाको टोली कारागार सुरक्षार्थ खटिएको छ। हाल प्रहरी टोली पनि कारागार सुरक्षामा सहकार्यरत रहेको बताइएको छ।
सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार दार्चुला कारागारमा पनि सेना तैनाथ गरिएको हो।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेल का अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन अघि बढाइएको छ।
