पोखरा — फेवातालमा माछा मार्ने क्रममा एक थान अत्याधुनिक एसएलआर (SLR) राइफल तथा गोली फेला परेको छ। पोखरा महानगरपालिका–१८ खपौंदीस्थित ताल क्षेत्रमा बिहीबार साँझ जाल हान्ने क्रममा उक्त हतियार भेटिएको हो।
स्थानीय ४२ वर्षीय कुमार जलारीले माछा मार्न जाल तानेका बेला केही गह्रौँ वस्तु अड्किएको महसुस गरेका थिए। बाहिर निकाल्दा राइफल देखिएपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार फेला परेको राइफलमा ‘मु.वा.१११’ (बट नम्बर) र ‘१३८१०’ (बडी नम्बर) उल्लेख छ। राइफलसँगै १८ राउण्ड गोली लोड गरिएको एक थान म्यागजिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
सूचना प्राप्त हुनासाथ प्रदेश प्रहरी कार्यालय गण्डकी र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले हतियार नियन्त्रणमा लिएको थियो।
डीएसपी बस्नेतका अनुसार उक्त हतियार नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीमध्ये कुन निकायसँग सम्बन्धित हो भन्ने विषय अझै खुल्न सकेको छैन। “केन्द्रीय कार्यालयको प्रबन्ध शाखामा रहेको अभिलेखसँग भिडाएर प्रमाणीकरण गर्ने प्रयास भइरहेको छ,” उनले बताए।
गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएको हतियार हुनसक्ने आशंका गरिए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। प्रहरीले सो घटनासँग सम्बन्ध जोड्ने ठोस आधार हालसम्म फेला नपरेको बताउँदै विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
