राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा मुलुकलाई निकास दिन निर्वाचन नै प्रमुख माध्यम भएको बताएका छन्। शुक्रबार मतदातालाई सम्बोधन गर्दै उनले निर्वाचनमार्फत आम जनताले सक्षम नेतृत्वलाई बहुमतसहित विजयी गराएर नयाँ इतिहास रच्नुपर्नेमा जोड दिए।
उनले एउटै दललाई स्पष्ट बहुमत दिएर स्थिर सरकार निर्माण गर्ने समय आएको उल्लेख गर्दै सक्षम र नेतृत्व गर्नसक्ने व्यक्ति तथा दल छनोट गर्न मतदातासँग आग्रह गरे। चुनावी प्रचार–प्रसारका क्रममा रिडी हुँदै तम्घास पुगेका लामिछानेले देश परिवर्तनको अभियानमा आफूहरू अग्रसर रहेको दाबी गरे।
सभापति लामिछानेले गलत नेतृत्व चयन भए देशले पुनः दुःख भोग्नुपर्ने चेतावनी दिँदै परिवर्तनका लागि सहकार्य र समन्वय आवश्यक रहेको बताए। उनले सदरमुकाम तम्घासस्थित शहीद शमशेरबहादुर खत्रीको शालिकमा माल्यार्पण समेत गरेका थिए।
रास्वपाबाट गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा सागर ढकाल र क्षेत्र नम्बर २ मा गोविन्द पन्थी उम्मेदवार रहेका छन्। जिल्लामा कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन्।
