रौतहट – रौतहट जिल्ला मा नक्कली नेपाली एक हजार दरका १४ थान नोटसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहट का अनुसार बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका–१ विश्रामपुर बजार स्थित एक किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना बाहिरिएको हो।
पक्राउ पर्नेमा वृन्दावन–२ विश्रामपुरका ३२ वर्षीय दिनेश पटेल र बरहथवा नगरपालिका–१ का ३० वर्षीय विवेक प्रसाद यादव रहेका छन्। उनीहरू बीआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालका अनुसार पसल सञ्चालकले नोट शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खटिएको टोलीले जाँच गर्दा दिनेश पटेलको साथबाट एक हजार दरका १२ थान र विवेक प्रसाद यादवले मोबाइल कभरभित्र लुकाएर राखेका २ थान गरी कुल १४ थान नक्कली नोट बरामद गरेको जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
