काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्र विकास कोष ले पशुपतिनाथ मन्दिर क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
महाशिवरात्रिका लागि मन्दिर क्षेत्रमा श्रद्धालु भक्तजन, साधुसन्त तथा दर्शनार्थीको आगमन उल्लेख्य रूपमा बढ्न थालेको छ। क्षेत्रलाई फूल र बत्तीले आकर्षक रूपमा सजाइएको छ। नेपालसहित भारत, भुटान, बंगलादेश, म्यान्मार लगायत विभिन्न देशबाट भक्तजन आउने क्रम जारी रहेको कोषले जनाएको छ।
व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्था मिलाउन पर्सि आइतबार बिहान २ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गर्ने निर्णय गरिएको छ।
दर्शनार्थी तथा साधुसन्तको भीड बढ्दै गएको सन्दर्भमा सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्न कोषले सबैमा अनुरोध गरेको छ। लामो समय प्रतीक्षा गर्न नपर्ने गरी दर्शन व्यवस्थापन गरिएको पनि जनाएको छ।
सुरक्षा व्यवस्थाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका टोली परिचालन गरिएको छ। सुरक्षा निकायसँगै कोषको आफ्नै सुरक्षा टोलीसमेत खटाइएको जानकारी दिइएको छ।
