रौतहटमा फरार रहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते काठमाडौँस्थित जगन्नाथदेवल कारागार बाट फरार भएका सागर खाती विश्वकर्मालाई बिहीबार नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल निर्वाचन क्षेत्र नम्बर ४ बेस, सन्तपुरबाट डिएसपी विश्वनाथ जिसीको नेतृत्वमा खटिएको मोबाइल टोलीले चन्द्रपुर नगरपालिका–४ ठाडाटोलका २७ वर्षीय विश्वकर्मालाई चन्द्रनिगाहपुर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका विश्वकर्मा फरार सूचीमा रहेका थिए। उनी चन्द्रनिगाहपुर क्षेत्रमा लुकीछिपी बस्दै आएको सूचनाका आधारमा सशस्त्र प्रहरी टोली परिचालन गरिएको थियो।
पक्राउ परेका विश्वकर्मालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको छ। उनलाई पुनः कारागार चलान गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
