पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गरेका छन्। जनयुद्धको आधार इलाकाका रूपमा चिनिने रुकुम पूर्वमा आयोजित कार्यक्रममा उनले जनयुद्धका स्मृतिहरू ताजा भएको बताएका हुन्।
‘यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ। रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा ती सबै स्मरणहरू फेरि ताजा भएका छन्,’ उनले भने, ‘जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ।’
प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गरे। ‘यहाँका गरिब, महिला र आदिवासी जनजातिले रगत नबगाएको भए आज हामी समावेशी र समानुपातिक गणतन्त्रमा हुने थिएनौँ,’ उनले भने, ‘यहाँ आउँदा म अलिकति भावुक पनि भएको छु। अब जनयुद्धकै जस्तो उत्प्रेरणा र नयाँ ऊर्जासहित अघि बढ्नेछौँ।’
उनले २०८४ सालमा तय गरिएको निर्वाचन २०८२ मै गर्नुपर्ने अवस्था सिर्जना भएको दाबी गर्दै देश कठिन मोडबाट अघि बढिरहेको बताए। ‘यस्तो संकटको घडीमा इतिहासका प्रेरणाबाट शिक्षा लिँदै राष्ट्र र राष्ट्रियताको पक्षमा अघि बढ्नुपर्छ,’ उनले भने, ‘समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्पका रूपमा मैले यो अवसरलाई लिएको छु।’
जनयुद्धकालीन संकल्प र दृढतासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गरिने पनि बताए।
