काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभाको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक मध्याह्न १२:१५ बजे सुरु हुने छ।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय एकाइहरूबीच विधायिकी अन्तर सम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पनि पेस गर्ने कार्यसूचीमा छन्।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको जानकारी दिनेछन्। साथै राष्ट्रपति रामचन्द्र पौडेलबाट अधिवेशन अन्त्यसम्बन्धी सभामा प्राप्त पत्रको व्यहोरा पनि अध्यक्ष दाहालले प्रस्तुत गर्नेछन्।
राष्ट्रपतिले संविधानको धारा ९३(३) बमोजिम मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिस अनुसार आज राति १२:०० बजेबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिएको छ।
