बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ।
२९९ सदस्यीय संसदमा बीएनपीले १६५ सिट जित्दै सरकार गठनका लागि आवश्यक बहुमत सुरक्षित गरेको हो। यससँगै पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ।
दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका रहमानले दुवै सिटमा विजय हासिल गरेका छन्। उनी बेलायतमा १७ वर्ष निर्वासन जीवन बिताएपछि गत वर्ष डिसेम्बरमा स्वदेश फर्किएका थिए।
जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले ४५ सिट जितेको छ। जमात प्रमुख सिफुकर रहमानले ढाका–१५ क्षेत्रमा विजय हासिल गरेका छन्। अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले तीन सिट जितेका छन्।
सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता सञ्चालन गर्दै आएका तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत पलायन भएको र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक संसदीय निर्वाचन भएको हो।
यस निर्वाचनले बंगलादेशमा ३५ वर्षपछि नयाँ प्रधानमन्त्री चयन गर्ने मार्ग प्रशस्त गरेको छ।
