बर्दिबास । महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरामा ट्याक्टरको रोटाबेटरमा परेर दुई जना बालिकाको ज्यान गएको छ।
बिहीबार खेत जोत्ने क्रममा ट्याक्टरमा जडान गरिएको रोटाबेटरमा परेर उनीहरूको घटनास्थलमै मृत्यु भएको नगर प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए। घटनाको खबर पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो।
मृत्यु हुनेमा मझौराका इमराइन राइनकी ७ वर्षीया छोरी फरहान खातुन र सिरहा नगरपालिका–१ माडरका अस्मतुला राइनकी ८ वर्षीया छोरी रफिया खातुन रहेका छन्।
नगर प्रमुख मण्डलका अनुसार चालकसँगै ट्याक्टरमा रहेका दुवै बालिका ब्रेक लगाउने क्रममा चिप्लिएर खस्दा रोटाबेटरतर्फ टाउको परेपछि गम्भीर दुर्घटना भएको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ भने अन्य विवरण आउन बाँकी रहेको छ।
