रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा रहेको नमुना सामुदायिक वनमा अज्ञात समूहले आगजनी गर्दा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
छ वर्षअघि कटान गरी घाटगड्डी गरेर राखिएको करिब आठ हजार घनफिटभन्दा बढी सालका गोलियामा आगलागी भएको हो। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वन उपभोक्ता समूहका सदस्यलाई हम्मेहम्मे परेको थियो।
उपभोक्ता समूहका अनुसार उपभोक्ताको माग र आवश्यकताअनुसार कटान गरी राखिएको काठको लेखापरीक्षण र साधारणसभा हुन नसक्दा बिक्री प्रक्रिया अघि बढ्न सकेको थिएन। समयमै काठ बिक्री नहुनु, वन गस्ती सक्रिय नहुनु तथा उपभोक्ताको सचेतनामा कमी हुनुजस्ता कारणले अज्ञात समूहले आगजनी गरेको हुन सक्ने वन समितिका सदस्यको अनुमान छ।
२०७६ सालमा चारसय केभी प्रसारण लाइन विस्तारका क्रममा काटिएका ती सालका गोलियामा आगलागी भएको सवडिभिजन वन कार्यालय जुडिबेलाका अधिकृत बालकिशोर सिंहले जानकारी दिए। उनका अनुसार सामुदायिक वन समूहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि पत्राचार गरेकाले साधारणसभा र लेखापरीक्षण प्रक्रिया रोकिएको थियो, जसका कारण काठ बिक्री हुन सकेको थिएन।
करिब पाँच घण्टापछि मात्रै आगलागीबारे जानकारी पाउँदा क्षति बढेको प्रहरी चौकी जुडिबेलाका प्रहरी सहायक निरीक्षक जयकान्त तिवारीले बताए। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
