म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकै पटक व्यवस्थित गर्न पूर्वाधार निर्माण कार्य सुरु गरेको छ।
संघीय सरकारसँगको लागत साझेदारीमा गाउँपालिकाले १८ स्थानका शवदाहस्थलमा आवश्यक संरचना निर्माण गरी व्यवस्थित बनाउन लागेको हो। जलजलाका अधिकांश शवदाहस्थल कालीगण्डकी नदीको किनारमा रहेका छन्। लेकफाँट, वनमडे, डाँडाकटेरी, लोप्रे, कुवापानी, बनौलगायत जनजाति बस्ती आसपासका घाटहरूलाई पनि व्यवस्थित गरिने जनाइएको छ।
रु दुई करोड ५८ लाख लागतमा ठेक्का सम्झौता गरिएको उक्त योजना जेआरएस इन्जिनियरिङ सोलुसन एन्ड कन्ट्रक्सन दाङले निर्माण सुरु गरेको हो।
गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार वर्षा लाग्दा पनि शव दाहसंस्कार गर्न मिल्ने सत्तल, घाटसम्म पुग्ने पदमार्ग, कपडा फेर्ने कक्ष, मलामी बस्ने आश्रयस्थल, शौचालय, खानेपानी र विद्युत् व्यवस्थासहितको पूर्वाधार निर्माण गरिनेछ।
उनका अनुसार धेरै मानिसको जमघट हुने घाटमा आधारभूत संरचना अभावका कारण नागरिकले समस्या भोग्नुपरेको गुनासो आएपछि राष्ट्रिय योजना आयोगमार्फत समपूरक बजेट स्वीकृत भएपछि आयोजना कार्यान्वयनमा ल्याइएको हो। चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
शवदाहस्थल नजिकै हिन्दू मृत्यु संस्कारमा आवश्यक पर्ने बर र पिपलका बिरुवा रोपेर संरक्षण समिति गठन गरी समुदायलाई जिम्मा दिने योजना पनि रहेको छ। हाल व्यवस्थित घाट नहुँदा बर्खामा बाढीले जलाउँदै गरेको शव बगाउने, गर्मीमा चर्को घाम तथा वर्षामा रुझ्नुपर्ने समस्या रहेको छ।
जलजला गाउँपालिका–६ शालिजामा यसअघि नै दुईवटा घाट निर्माण भई सञ्चालनमा छन्। नयाँ योजनाअन्तर्गत डमुवाखोला, लस्ती, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत कालीगण्डकी किनारका घाटहरूमा पूर्वाधार निर्माण गरिनेछ।
