काठमाडौँ । आज विश्व रेडियो दिवस विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ। रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वभर सचेतनामूलक तथा विचार आदान–प्रदानका कार्यक्रम आयोजना भइरहेका छन्।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन UNESCO (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो। सन् १९४६ मा संयुक्त राष्ट्रसंघीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाइन्छ। युनेस्कोले पाँचै महादेशमा डिजिटल प्रसारणमार्फत शैक्षिक सामग्री श्रोतासमक्ष प्रस्तुत गरिने जनाएको छ।
युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु, निर्णयकर्ताहरूलाई सूचना पहुँच सुनिश्चित गर्न प्रेरित गर्नु, रेडियोको उपयोग प्रोत्साहन गर्नु तथा विश्वभरका प्रसारकहरूबीच अन्तरराष्ट्रिय सहकार्य सुदृढ बनाउनु यस दिवसको मुख्य उद्देश्य हो।
मानव समाजको विविधतालाई उत्सवका रूपमा मनाउने सशक्त माध्यमका रूपमा रेडियोलाई लिइन्छ। लोकतान्त्रिक संवादका लागि रेडियो महत्वपूर्ण मञ्चका रूपमा स्थापित छ। विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यममध्ये रेडियो अग्रस्थानमा रहेको छ।
व्यापक श्रोतासम्म पुग्ने यसको विशिष्ट क्षमताले समाजमा विविधताको अनुभूति निर्माण गर्न, सबै आवाजलाई बोल्ने, प्रतिनिधित्व हुने र सुन्ने अवसर प्रदान गर्ने सार्वजनिक चौतारीका रूपमा रेडियोले काम गर्दै आएको छ।
रेडियो ‘स्टेशन’हरूले विविध समुदायलाई सेवा प्रदान गर्दै विभिन्न कार्यक्रम, दृष्टिकोण र सामग्री प्रस्तुत गर्नुपर्ने तथा आफ्ना संरचना र सञ्चालनमा पनि श्रोताको विविधता प्रतिबिम्बित गर्नुपर्नेमा युनेस्कोले जोड दिएको छ।
कम लागतमा सञ्चालन गर्न सकिने माध्यम भएकाले रेडियो दुर्गम क्षेत्र तथा जोखिममा रहेका समुदायसम्म पुग्न विशेष प्रभावकारी मानिन्छ। यसले शैक्षिक स्तरको भेदभाव नगरी सार्वजनिक बहसमा सहभागी हुन समान अवसर प्रदान गर्दछ। आपतकालीन सूचना प्रवाह र विपद् उद्धारका सन्दर्भमा समेत रेडियोको भूमिका महत्वपूर्ण छ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक श्रीराम पौडेलका अनुसार समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि संवाद प्रवर्द्धन गर्न रेडियो अद्वितीय रूपमा सक्षम छ। श्रोताको आवश्यकतालाई सुन्दै तदनुसार सामग्री प्रस्तुत गर्दा साझा चुनौतीहरूको समाधानका लागि आवश्यक विविध दृष्टिकोण र आवाज सुनिश्चित गर्न रेडियो सेवाले सहयोग पुर्याउने उनको भनाइ छ।
यसै अवसरमा जारी सन्देशमा युनेस्कोका महानिर्देशक खालेद एल–एनानीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग जनहितका लागि उपयोगी हुनेगरी हुनुपर्नेमा जोड दिएका छन्। उनले रेडियोले इमान्दारीपूर्वक सूचना प्रवाह गर्न, सहानुभूतिपूर्ण समुदाय निर्माण गर्न र विश्वासको आधार सुदृढ गर्न अधिकतम प्रयास गर्नुपर्ने बताएका छन्।
विश्व रेडियो दिवसका अवसरमा विभिन्न रेडियो स्टेशन तथा प्रसारकहरूले विशेष कार्यक्रम, विचारमञ्च, प्रतियोगिता, कथा सङ्ग्रह तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिरहेका छन्। केही अफ्रिकी राष्ट्रहरूमा सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा चलचित्र प्रदर्शनसमेत गरिँदैछ भने रेडियोको भविष्य र एआईको प्रभावबारे छलफल पनि भइरहेको जनाइएको छ।
