सहकारी ठगी प्रकरणको अनुसन्धानको क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध लगाइएका आरोपहरूको छिनोफानो अदालतबाटै हुने र त्यहाँ न्याय पाउनेमा पूर्ण ढुक्क रहेको बताएका छन्।
बिहीबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता र तारिख बुझाउन पुगेका लामिछानेले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै ‘अदालती प्रक्रियालाई सम्मान गर्नु’ आफ्नो पहिलो कर्तव्य भएको बताए। उनले विभिन्न जिल्लाका अदालतहरूमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्याय प्राप्तिको अवसरको रूपमा हेरेको बताए।
विभिन्न जिल्लामा दायर मुद्दाका कारण लामिछाने अहिले ‘अदालती दौडधुप’मा रहेका छन्। उनले भने, "मैले विभिन्न अदालतमा तारिख बुझाउन आफैँ उपस्थित हुनुपर्छ, त्यसैले आफ्नो राजनीतिक तालिकालाई त्यसअनुसार व्यवस्थापन गरिरहेको छु।"
लामिछानेले आफू विधिको शासन र कानूनी राज्य स्थापनाका लागि राजनीतिमा आएको दाबी गर्दै कानूनले तोकेको हरेक प्रक्रियालाई गम्भीरताका साथ पालना गर्ने प्रतिबद्धता जनाए। उनले अदालत अन्तिम न्याय दिने थलो भएकाले कुनै पनि कानूनी प्रक्रियाबाट नफुक्ने र अदालतको फैसलालाई सम्मान गर्ने स्पष्ट संकेत दिएका छन्।
