काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान सत्ता गठबन्धन तथा निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै देश जोगाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले देश, धर्म र संस्कृति संरक्षणका लागि जिम्मेवार र निष्पक्ष पत्रकारिताको आवश्यकता औँल्याए।
प्रसाईंले हालको परिस्थितिमा आमजनतामा निर्वाचनप्रति उत्साह नदेखिएको दाबी गरे। उनका अनुसार, भ्रष्टाचारका आरोपित व्यक्तिहरूमाथि कारबाही नभएसम्म निर्वाचनको औचित्य नहुने तर्क प्रस्तुत गरे। “अहिले विधिवत रूपमा सत्ता कब्जा गर्नेहरूलाई मात्रै निर्वाचन चाहिएको छ,” उनले भने।
उनले निर्वाचनअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सांसद सोविता गौतमलगायतका नेताहरूसम्बन्धी थप सामग्री सार्वजनिक गर्ने चेतावनीसमेत दिए।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकप्रति पनि टिप्पणी गर्दै आन्दोलनका क्रममा भएका घटनाको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने बताए। आन्दोलनका क्रममा भएको भनिएको दमनबारे निष्पक्ष छानबिन र आवश्यक कारबाही हुनुपर्ने उनको माग छ।
