कपिलवस्तुको शुद्धोदन गाउँपालिका–६ टिटिहिरियास्थित तौलिहवा–भैरहवा सडक खण्डमा बिहीबार बिहान काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको बसमा आगलागी भएको छ।
ना ७ ख ६०४८ नम्बरको बस पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। बसमा सवार ४४ जना यात्रुलाई समयमै बाहिर निकालिएकाले मानवीय क्षति भने हुन पाएन।
प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा बायाँतर्फको पाङ्ग्राबाट अचानक आगो सल्किएको थियो। आगो नियन्त्रण गर्ने प्रयास गरिए पनि सफल हुन नसक्दा करिब आधा घण्टाभित्रै बस पूर्ण रूपमा जलेर नष्ट भएको हो।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
