काठमाडौँ: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी स्वतन्त्र रूपमा अघि बढिरहेको बताएका छन्। पूर्वी नेपाल भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशभर पार्टीले आफ्नै योजना अनुसार गतिविधि विस्तार गरिरहेको जानकारी दिए।
अध्यक्ष घिसिङले भने, “देशका विभिन्न ठाउँमा उज्यालो नेपाल पार्टी स्वतन्त्र हिसाबले अगाडि बढिरहेको छ। हामी एकमत भएर निरन्तर अघि बढ्नेछौं। हालका लागि अन्य राजनीतिक पार्टीसँग सहकार्य सम्भव छैन, तर भविष्यमा आवश्यकता अनुसार सहकार्य हुन सक्छ।”
उनले थपे, “हामी कसैलाई गाली गरेर वा कुनै पार्टीलाई तल राखेर माथि उक्लिने पार्टी होइनौं। समान अस्तित्व र पारस्परिक सम्मानको आधारमा अघि बढ्न हामी प्रतिबद्ध छौं।”
अध्यक्ष घिसिङले पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाउँदै जनतामाझ आफ्ना एजेन्डा स्थापित गर्ने अभियान जारी रहने पनि बताए। उनले आफ्नो पूर्वी नेपालको भ्रमणमा झापा जिल्लाको काँकडभिट्टा, विर्तामोड, दमक हुँदै सुनसरी सम्म जाने कार्यक्रम रहेको जानकारी दिए।
