म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना को निर्माणमा भएको अवरोध आज (एक महिनापछि) हटेको छ।
धवलागिरि गाउँपालिकाका बासिन्दा, स्थानीय सडक अन्तर्गत पर्ने दाङखोला पुल निर्माण नहुँदा विगत पुस २५ गतेदेखि आयोजना निर्माण बन्द गरेका थिए।
गाउँपालिकाका उपाध्यक्ष रेश्म पुनमगरले जानकारी दिनुभयो कि स्थानीयवासीको माग अनुसार चालु आर्थिक वर्षभित्र मोटरेबल पुल निर्माण सुरु हुने सुनिश्चितता भएकाले राजनीतिक दल र स्थानीय अगुवासँग परामर्श गरी आन्दोलन फिर्ता लिने निर्णय गरिएको छ।
धौलागिरि कालिका हाइड्रो लिमिटेड का प्रबन्ध निर्देशक हर्कमान मगरले कानुनी प्रक्रिया पूरा गरी छिटो पुल निर्माण सुरु र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। दाङखोलामा पुल निर्माणको ठेक्का विसं २०७६ जेठ २२ मा रु १ करोड ९३ लाख २९ हजार ४५७ मा सम्झौता भएको थियो।
जलविद्युत् आयोजनाको बाँध डुवान क्षेत्र पर्ने कारण पूर्व प्रस्तावभन्दा २०० मिटर माथि पुल बनाउन प्रदेश सरकारसँग आग्रह गरिएको थियो। निर्माण नहुँदा आयोजनाले नै पुल बनाउने सहमति भएको थियो।
पहिलेको अस्थायी मोटरेबल पुल जीर्ण हुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकम क्षेत्रका बासिन्दाले आवतजावतमा समस्या भोगिरहेका थिए।
