दाङ । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
गढवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटोरिक्सा चालक जोरकुमार पुनको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका पुनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
