रौतहट । रौतहटमा सशस्त्र प्रहरी र वन सुरक्षा टोलीले अवैध साल काठ बोकेको एक टाटा सुमो गाडी र एक मोटरसाइकल बरामद गरेको छ। जंगलसहिया क्षेत्रमा अवैध साल काठ तस्करी भइरहेको सूचनाका आधारमा खटिएको संयुक्त गस्ती टोलीले काठसहित सवारीसाधन नियन्त्रणमा लिएको हो।
जंगलसहिया सब–डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार राति करिब ९ः३० बजे नियमित गस्तीका क्रममा दुई थान सालको गोलिया काठ बरामद गरेको जनाएको छ।
जंगलसहिया सब–डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराको नेतृत्वमा खटिएको टोलीले जंगलसहिया साझेदारी वनअन्तर्गत बागमती नहर नजिक शंकास्पद गतिविधि देखेपछि जाँच गरेको थियो। सो क्रममा भारतीय नम्बर प्लेटको टाटा सुमोमा लोड गरिएको साल काठ र ना ६७ प १०५१ नम्बरको मोटरसाइकल फेला परेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
टोली पुग्नासाथ काठ तस्करीमा संलग्न व्यक्तिहरू सवारीसाधन छाडेर फरार भएको डिभिजन प्रमुख हेमन्तकुमार साहले जानकारी दिए। बरामद काठ, सुमो र मोटरसाइकल डिभिजन वन कार्यालय रौतहटमा राखिएको छ।
काठको नापजाँच तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको र फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रमुख साहले बताए।
अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वन क्षेत्रमा काठ तस्करी बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्लाभर सशस्त्र प्रहरीसहित संयुक्त गस्ती कडाइ गरिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।
