जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ। फागुन १ गते विमानस्थल र आसपासको क्षेत्रमा प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलले विज्ञप्ति जारी गरेपछि प्रशासनले संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशअनुसार बिहीबारदेखि लागू हुने गरी विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसरभित्रका सम्पूर्ण क्षेत्रहरूमा निषेधाज्ञा लागू हुनेछ। यसअन्तर्गत आन्तरिक टर्मिनल, अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र तथा विमानस्थल हाताभित्रका सबै सडक क्षेत्र समेटिएका छन्।
निषेधाज्ञा लागू भएसँगै अब ती क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यक्रम गर्न पाइने छैन।
आदेशमा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा भेला तथा प्रदर्शन गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल गतिविधि हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
यद्यपि, प्रशासनले निषेधित क्षेत्र बाहेकका स्थानमा संविधानले प्रदान गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
त्यसैगरी, पूर्वजानकारी दिएर गरिने विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेमा आयोजकबाट क्षतिपूर्ति असुल गरिने पनि प्रशासनले चेतावनी दिएको छ।
